मर्दीखोला समाज युके को नवौ बार्षिक भेटघाट धुमधाम सम्पन्न
लण्डन
गत शनिबार १९ जुलाई २०१६ को दिनमा मिचेटस्थित तमुधिं यूकेको भवनमा मर्दिखोला समाज यूकेको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भयो । कास्की जिल्ला ल्वाङ्ग, घलेल, रिबान, धिताल, लाहचोक गाविसका बेलायतवासीहरुले सन् २००७ सालमा मर्दिखोला समाज यूकेको स्थापना गरेको हो । सो समाजले प्रत्येक बर्ष बार्षिक भेटघाट कार्यक्रमको आयोजना गर्दै आएको छ ।
उक्त बार्षिक भेटघाट कार्यक्रमलाई एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ, श्री बराह उच्च मावि भेडाबारीका प्रिन्सिपल नर बहादुर गुरुङ र समाजका अध्यक्ष हिरामान गुरुङले संयुक्त रुपमा दिपप्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथिको आशनबाट एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङले एनआरएनए यूकेले बेलायतमा नेपाल हाउस बनाउन लागेको बताउदै सो अभियानमा सहयोग गर्न अनुरोध गरे । त्यस्तै बिशेष अतिथि प्रिन्सिपल नरबहादुर गुरुङले भेडाबारीस्थित उच्च माध्यमिक विद्यालयको अवस्था बारे चर्चा गर्दै विद्यालयलाई सहयोग गर्न अनुरोध गरे । त्यसैगरी समाजको आमा समूहकी अध्यक्ष माया गुरुङले आमा समूहको गतिविधिको बारेमा चर्चा गर्दै आफूलाई साथ दिएकोमा दिदिबहिनीहरुलाई धन्यवाद दिईन् ।
विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सो कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले नृत्य प्रस्तुत् गरेका थिए भने कार्यक्रमको अन्त्यमा सबैजनाले सामूहिक नृत्य गरेर बार्षिक भेटघाट कार्यक्रमलाई अविस्मरणिय बनाए । उक्त सांस्कृतिक कार्यक्रमलाई सुन्दर गुरुङले संचालन गरेका थिए भने डिजेमा कुमार गुरुङ र कृष्णदेव गुरुङले साथ दिएका थिए । त्यस्तै, जगनकुमारी गुरुङले विभिन्न कविता वाचन गरेकी थिईन् भने फोटोग्राफीमा मिलन तमुको बिशेष भूमिका रहेको थियो ।
राफल ड्रको समेत आयोजना गरिएको सो कार्यक्रममा समाजका विभिन्न सदस्यहरुले पुरस्कारको प्रायोजन गरेका थिए । सो कार्यक्रमलाई हेम कुमार गुरुङले अत्यन्तै रमाईलो ढंगले संचालन गरेका थिए ।
गतबर्ष स्वर्गारोहण भएकी रुकमणी गुरुङ र हरिमान गुरुङको सम्झनामा एक मिनेट मौनधारण गरिएको कार्यक्रममा गतबर्ष आजीवन सदस्य लिएका सदस्यहरुलाई अध्यक्ष गुरुङले सदस्यताको प्रमाण पत्र वितरण गरेका थिए । त्यस्तै, प्रमुख अतिथि लगायतका अतिथिहरुलाई ‘टोकन अफ लभ’ प्रदान गरियो ।
समाजले हालै रिबानमा निमार्णाधिन अवस्थामा रहेको मोटर बाटोको सहयोगार्थ समाजको तर्फबाट अध्यक्ष गुरुङले सडक निमार्ण समितिका प्रेमबहादुर गुरुङलाई पांचसय पाउण्डको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा समाजका विभिन्न सदस्यहरुले पनि बाटो निमार्णका लागि सहयोग रकम प्रदान गरे । त्यस्तै समाजका विभिन्न सदस्यहरुले समाजलाई पनि आर्थिक सहयोग प्रदान गरेका थिए ।
मर्दिखोलावासीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष सोम त्होर्जे तमु, बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेका अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिईएम, एभरेष्ट टाइम्सका सम्पादक हरि कुमार (काजी) गुरुङ, धम्पुस परिवार यूकेका अध्यक्ष अमर गुरुङ, समाजका पूर्व अध्यक्ष क्या.रि.कृष्ण बहादुर गुरुङ, तमु समाज यूकेकी उपाध्यक्ष बिजु गुरुङ, घाचोक माछापुच्छ्रे समाज यूकेका अध्यक्ष दिलरास गुरुङ, धर्म गुरु लामा मन बहादुर गुरुङ, हरि लक्ष्मी गुरुङ, आजीमान गुरुङ, सीता गुरुङ, भगवान गुरुङ, समाजका जेष्ठ नागरिक, सल्लाहकार, आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष हिरामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त बार्षिक भेटघाट कार्यक्रममा समाजका उपाध्यक्ष नविन कुमार गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव सविन्द्र कुमार गुरुङले संचालन गरेका थिए ।
