
मर्दी खोला समाज यु.के. समयको प्रवाहसँगै आत्मसात हुँदै सन् 2007 मा औपचारिक रूपमा स्थापना भएको हो। स्थापना कालदेखि नै यस संस्थाले समाज सेवा, आपसी एकता र सांस्कृतिक संरक्षणलाई आफ्नो मूलभूत ध्येय बनाएको छ। आज समाज आफ्नो 18औं वर्षको यात्रामा प्रवेश गर्दैछ। यस अवधिमा प्राप्त अनुभव र उपलब्धिहरूले यसलाई अझ सशक्त र उद्देश्यप्रति प्रतिबद्ध बनाएको छ।
गत 17 वर्षको यात्रालाई पछाडि फर्केर हेर्दा, यो मार्ग सहज र सरल थिएन। बाधा–अड्चन, उकाली–ओराली, घाम–पानी, हुरी–बतासको सामना गर्दै पनि समाज निरन्तर अगाडि बढेको छ। यस बीचमा आयोजित विभिन्न सामाजिक, सांस्कृतिक, शैक्षिक र सहयोगमूलक कार्यक्रमहरूले संस्थाको उपस्थितिलाई मात्र बलियो बनाएन, सदस्यबीचको आपसी सम्बन्धलाई अझ झाङ्ग्याइदिएको छ।
समाजले नेपालमा मात्र नभई बेलायतमा पनि आवश्यक सहयोग र उद्धारका कार्यहरूमा सक्रिय भूमिका खेलेको छ। समय र परिस्थितिले मागेको ठुला–सानातिना सहयोगका अनुरोधहरूलाई बेकार नगरी सकेसम्म पूरा गर्ने निरन्तर प्रयास संस्थाले गर्दै आएको छ। यसरी, सहयोगी भावना, आपसी समझदारी र साझा प्रयासका कारण समाजले अनुकरणीय उपलब्धिहरू हासिल गरेको छ।
विदेशको बसाइले हामीलाई हाम्रो पहिचान, संस्कार र संस्कृतिको संरक्षणको आवश्यकता तीव्र रूपमा महसुस गराएको छ। संस्कृतिको सम्बर्द्धन, धार्मिक तथा सामाजिक मूल्यको रक्षा, र भावी पुस्तामा परम्परागत रीतिरिवाज हस्तान्तरण गर्नु समाजको महत्वपूर्ण जिम्मेवारी हो। साथै, सुख–दुःखमा साथ दिने, आपसी सद्भाव र सहयोगलाई जीवन्त राख्ने संरचना बनेको छ—मर्दी खोला समाज यु.के.।
नेपालदेखि हङकङ हुँदै बेलायतसम्मको यात्रामा समाजले अब एउटा निश्चित दिशाबोध पाएको छ। बेलायतभर छरिएर रहेका सदस्यहरूलाई एकताबद्ध गराउने, आपसी सहयोगलाई संस्थागत गर्ने र साझा लक्ष्यतर्फ अघि बढाउने ध्येयसहित यस संस्थाले कार्य गरिरहेको छ।
अहिलेसम्मका उपलब्धि र सफलताहरूलाई आधार मानेर, आगामी दिनहरूमा समाजले अझ उपलब्धिमूलक परियोजनाहरू अघि बढाउने संकल्प लिएको छ। यी परियोजनाहरूले सदस्यबीचको सहकार्यलाई मात्र बलियो बनाउने छैनन्, बरु समाज सेवामा अनुकरणीय उदाहरण प्रस्तुत गर्नेछन्।
हामी सबैको सामूहिक प्रयास र समर्पणमार्फत समाजलाई अझ सबल, समावेशी र प्रभावकारी बनाउन सकिन्छ भन्ने विश्वास हामीमा छ। संस्थाले निरन्तर एकता, सद्भाव र आपसी सहयोगको मूल्यलाई व्यवहारमा उतार्दै सामाजिक उत्तरदायित्व वहन गर्ने दृढ संकल्प व्यक्त गर्दछ।
अन्त्यमा, समाजप्रति दिनुभएको समय, निःस्वार्थ सेवाभाव र समर्पणका लागि मर्दी खोला समाज यु.के. सबै सदस्य र शुभेच्छुकहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछ। तपाईँहरूको निरन्तर सहयोग र उत्साहले नै यस संस्थालाई आजसम्मको यात्रा सम्भव बनाएको हो। भविष्यमा पनि सबैको हातेमालो, सहभागिता र समर्थनबाट अझ ठूला उपलब्धि हासिल गर्ने हाम्रो साझा लक्ष्य हुनेछ।
धन्यवाद।
भगवान गुरुङ
अध्यक्ष जय मर्दीखोला समाज यु के
