कास्कीको ल्वाङघलेल–१ खोराकोमुख बस्ती डुबानमा
लण्डन
कास्की, असोज ४ – कास्कीको ल्वाङघलेल–१ खोराकोमुख बस्ती डुबानमा परेको छ । शुक्रबार बिहानैदेखि परेको पानीले बढेको इर्दिखोला राती ९ बजेतिर बस्तीमा पसेको हो । बाढी बस्तीमा पस्दा बस्तीसँगै धानखेत पनि डुबानमा परेको छ ।
धार परिवर्तन गरी बस्तीबाट बगेको इर्दिखोलाले मानविय क्षति नगरेपनि खोरामुखमै रहेको सहिद हरिप्रसाद निमावीको कार्यालय कोठा भत्काएको स्थानीय बासिन्दा ओम गुरुङ्गले जानकारी दिनुभयो । ईदिखोला राती अचानक बस्तीमा पस्दा स्थानीय भागाभाग गरेका थिए ।
इर्दिखोला बस्तीमा पसेपछि त्यहाँका बासिन्दा रातभर जाग्राम बसेका छन् । घटनाका बारेमा राती नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराएको भएपनि अहिलेसम्म प्रहरी या सरकारी निकायका कोहि पनि त्यहाँ पुग्न सकेको छैनन् भने क्षतिको विवरण पनि आउन सकेको छैन । ल्वाङघलेल गाविसको ठूलो बस्ती रहेको खोरामुखको तल्लो क्षेत्रमा करिब ५०, ६० घर रहेको गाविस सचिव गेदुराम ढकालले बताउनुभयो ।
यस्तै गएराती नै कास्कीको हेम्जा–६ फेदिमा बढेको खहरे खोलाले एउटा मोटरसाईकल बगाएको छ । कास्कीको ढिकुपोखरी–५ का मनबहादुर सुनारको ग ७ प ६६ ५४ नम्बरको मोटरसाईकल फेदिमा बग्ने खहरेखोलाले राती सवा ९ बजेतिर बगाएको हो ।
