skip to Main Content

मर्दी खोला समाज बेलायत : उदयको पृष्ठभूमि र आवश्यकता

कास्की जिल्लाको उत्तर–पश्चिमी भेग, जसमा ल्वाङ्घघलेल, रिभान, लाहाचोक र धितालजस्ता गाउँ विकास समितिहरू पर्दछन्, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्त आकर्षक क्षेत्र मानिन्छ। विश्वप्रसिद्ध अन्नपूर्ण र माछापुच्छ्रे हिमालको साक्षी बनेर बसेको यो भेग केवल हिमालकै छायामा मात्र सीमित छैन; यसलाई जीवन्तता दिने मूल आधार भनेको यहाँको गर्विलो नदी “मर्दी खोला” हो।

मर्दी खोलाले आफ्नो कलकल बगिरहने स्वरले गाउँको पहिचानलाई सजाएको छ। यसलाई यहाँका बासिन्दाले सांस्कृतिक, भौगोलिक र जीवनोपयोगी दृष्टिले अमूल्य धरोहरका रूपमा स्वीकार गरेका छन्। विगतमा यसले स्थानीय बासिन्दाको तिर्खा मेटाउँदै आएको भए पनि आज यो पोखरा उपत्यकाको ठूलो जनसंख्यालाई समेत स्वच्छ र चिसो पानी पुर्‍याउने प्रमुख स्रोत बनेको छ। यसरी मर्दी खोलाले आफ्नो अस्तित्वलाई केवल प्राकृतिक सम्पदामा सीमित नराखी जीवन, समाज र विकाससँग जोड्ने महत्वपूर्ण योगदान दिएको छ।

यद्यपि, प्राकृतिक सुन्दरताले भरिपूर्ण र भौगोलिक रूपमा सहज पहुँच भएको यस क्षेत्रलाई दीर्घकालीन सरकारी विकास योजनाले अपेक्षित रूपमा छुन सकेको छैन। शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात र रोजगारजस्ता आधारभूत क्षेत्रमा यहाँका बासिन्दाले अझै पनि कठिनाइ भोगिरहेका छन्। रोजगारीको अवसर अभावमा धेरै युवाहरू आफ्ना गाउँ–ठाउँ छोडेर देशविदेशतिर पसेका छन्।

यही पृष्ठभूमिमा बेलायतस्थित मर्दी खोला वरिपरिका बासिन्दाहरूले आ–आफ्ना व्यक्तिगत दैनिकी र व्यस्ततालाई व्यवस्थित गर्दै, सामूहिक भावनालाई केन्द्रमा राखी, आफ्नो मातृभूमि र जन्मथलोप्रति योगदान गर्ने लक्ष्यका साथ एकजुट भएका छन्। उनीहरूले मुटुमा रहेको गाउँप्रतिको माया र विकासप्रतिको अभिलाषालाई संस्थागत रूप दिन “मर्दी खोला समाज बेलायत” की स्थापना गरेका हुन्।

यस समाजको उदय केवल एक संगठनको गठन मात्र होइन, बरु भविष्यको सुनिश्चित मार्गचित्र खडा गर्ने ऐतिहासिक पहल हो। यसले विदेशमा रहेर पनि गाउँ–समाजसँग आत्मीय सम्बन्ध कायम राख्ने, सामाजिक चेतना अभिवृद्धि गर्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीजस्ता क्षेत्रमा योगदान पुर्‍याउने सामूहिक संकल्पलाई मूर्तरूप दिने अपेक्षा गरिएको छ।

Back To Top